प्रमुख समाचार
जेष्ठ नागरिकलाई न्यानो पोशाक वितरण
रुकुम(पश्चिम)को आठबीसकोट नगरपालिकामा ‘जनप्रतिनिधिको पहिलो उपहार, जेष्ठ नागरिकहरुलाई ओछ्यानमै उपचार’ नामक पाँच वर्षे कार्यक्रमको सुरुवात भएको छ । आठविसकोट नगरपालिका १०बाट यस कार्यक्रमको सुरुवात भएको हो । उपप्रमुख गीता नेपालीले कार्यक्रमको उद्घाटन गरेकी हुन् । यस कार्यक्रम अन्तरगत प्रत्येक महिनामा एक पटक घरमै गएर जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण, औषधी वितरण, फलफुल वितरण लगाएतका गतिविधि संचालन हुने नगरपालिकाले जनाएको छ ।
नगरका १४ वटै वडामा यो कार्यक्रम संचालन हुने र यसका लागि नगरपालिकाले छुट्टै बजेटको व्यवस्था गरेको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । १० नम्बर वडाबाट सुरु भएको यो कार्यक्रम क्रमशः १४ वटै वडामा लागु हुने उनको भनाइ छ । कार्यक्रम पाँच वर्षसम्मै जारी रहने समेत उनले बताए । ‘जेष्ठ नागरिकहरुका लागि के गर्न सकिन्छ त भन्ने विषयमा छलफल गर्दा घरघरमै गएर स्वास्थ्य परिक्षण गर्ने र रोग अनुसारको औषधी वितरण गर्ने लक्ष सहित यो कार्यक्रमको सुरुवात गरेका छौँ उनले भने–यो कार्यक्रम पाँच वर्ष सम्म जारी रहने छ ।’
नजिकै स्वास्थ्य संस्था नहुँदा जेष्ठ नागरिकहरु रोग सहेर बस्न बाध्य भएको अवस्थामा गाउँमै पुगेर स्वास्थ्य परिक्षणका साथै औषधी वितरण गर्ने उद्धेश्यले यस कार्यक्रमको सुरुवात गरिएको उनको भनाई छ । घर घरमै पुगेर जेष्ठ नागरिकको उपचार गर्ने कार्यक्रमको थालनि भएपछि अव उपचार नपाएर घरमै थलिएर बसिरहेका जेष्ठ नागरिकहरु लाभान्वित हुने भएका छन् । यस कार्यक्रम अन्तरगत १० नम्बर वडाका ३० जना महिला र १५ जना पुरुष गरी ४५ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण र औषधि वितरण गरिएको छ ।
जेष्ठ नागरिकलाई न्यानो कपडा
यसैविच आठबीसकोट नगरपालीकाले जेष्ठ नागरकहरुलाई न्यानो कपडा वितरण गरेको छ । लक्षित वर्ग अन्तरगत जेष्ठ नागरिकको बजेटबाट नगरभित्रका सबै १४ वटै वडाका जेष्ठ नागरिकलाई एक एक ओटा ज्याकेट वितरण गरेको हो । चिसोमा न्यानो प्रदान गर्न नगरपालिकामा रहेका पाँच सय ६० महिला र चार सय पुरुष गरी जम्मा नौ सय ६० जनालाई ज्याकेट दिईएको नगर प्रमुख केसीले बताए । जेष्ठ नागरिकहरुका लागि नगरपालिकाले विभिन्न गतिविधि संचालन गरिरहेको र सोही अन्तरगत प्रति व्यक्ति एक एक वटाका दरले न्यानो ज्याकेट वितरण गरिएको उनको भनाई छ । ‘नगरपालिकाले जेष्ठ नागरिकहरुका लागि विभिन्न गतिविधि संचालन गरिरहेको छ उनले भने–सोही अन्तरगत जेष्ठ नागरिकहरुलाई चिसोबाट बचाउन राम्रो खालको न्यानो ज्याकेट बाँढेका छौँ ।’